मितिः २०८१, १२ माघ शनिबार

ल्होसारमा सांगितिक धमाका, भरतपुरमा तमू विद्यार्थीको भव्य प्रस्तुति

तमू ल्होसार २०७९ को अवसरमा कलाकारहरूले भरतपुरमा सांगितिक धमाका दिएका छन् । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले आयोजना गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमअन्तर्गत चितवनका तमू विद्यार्थीहरूले सांस्कृतिक धमाका पिटेका छन् ।
विभिन्न खालका गीतमा नृत्य प्रस्तुत गर्दै बाघ वर्ग (तोल्हो)लाई बिदाइ र बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरिएको छ । कार्यक्रममा चितवनबाहेक देवघाट, गैँडाकोटलगायतका क्षेत्रबाट पनि नाचगानका लागि कलाकारहरूको टोली महाबौद्ध गुम्बा परिसरमा भेला भएका थिए ।
विद्यार्थी तथा विभिन्न आमा समूहले प्रस्तुती दिँदै गर्दा बीचबीचमा विभिन्न गायक गायिकाहरूले कार्यक्रमलाई थप रोचक बनाएका छन् । ख्यातिप्राप्त कलाकारहरू शितल गुरूङ, सविन गुरूङ, तिलक गुरूङ, चिजा तामाङ, निर्जला गुरूङ, सूचना गुरूङलगायतका कलाकारहरूले आफ्नो सुरिलो अनि गहकिलो आवाजमार्फत धमाका पिटेका छन् ।
पछिल्लो समय प्रत्यक्ष दोहोरी गायनबाट स्थापित भएका चितवनै गायक शितल गुरूङले एकल लोक गीतसँगै आफूले प्रत्यक्ष दोहोरीमा गाएका भाकामा गीत सुनाएर उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध पार्नुभएको छ । प्रायः विगोगान्त भाकामा रूचाइएका गायक शितलले मञ्चमा पनि वियोगान्त भाका सुनाउनुका साथै केही कौडा र सालैजोसमेत प्रस्तुत गर्नुभयो ।
तमू भाषाको गीत गायनमा ख्याती कमाउनुभएका अर्का गायक तिलक गुरूङले कार्यक्रमको सुरूवातमै आफ्नो सुमधुर आवाज पस्किनुभयो । ल्होसारसम्बन्धी गीत गाएर मनोरञ्जन दिलाउनु भएका तिलकले पनि कौडा र सालैजोलगायतका मौलिक सिर्जना प्रस्तुत गर्नुभयो । त्यस्तै, भर्खरै उदाउँँनुभएकी दोहोरी गायिका निर्जला गुरूङले पनि मञ्चबाटै टुक्का हानेर थप मनोरञ्जन दिलाउनुभयो । त्यस्तै, चितवनकै दोहोरी साँझबाट गायन यात्रा सुरू गर्नुभएका दोहोरी गायक सविन गुरूङले पनि आफूले गाएका थुप्रै गीत गाउनुभयो ।
त्यस्तै गरी पछिल्लो समय बिर्सँदै गएको मौलिक ठाडोभाकामार्फत थप चर्चामा रहनुभएकी चिजा तामाङको प्रस्तुति पनि उत्तिकै दमदार रह्यो । उहाँले ठाडोभाकासँगै आफ्ना नयाँ तथा पुराना सिर्जना सुनाएर चिसो मौसमलाई तताउने प्रयास गर्नुभएको थियो । तमू विद्यार्थी छोँज धीँको संयोजकत्वमा भएको सांस्कृतिक कार्यक्रम धेरै वर्षपछिको विशेष थियो । यसअघिका वर्षहरूमा विद्यार्थी र केही आमा समूहको नृत्यमार्फत मनोरञ्जन दिलाउने प्रयास गरिँदै आइएकोमा यसपटक राष्ट्रियस्तरकै कलाकारहरूलाई बोलाएर कार्यक्रमलाई थप बलियो बनाउने प्रयत्न गरिएको बताइएको छ । आगामी वर्षहरूमा हुने कार्यक्रमलाई पनि थप संगीतमय बनाउँदै लैजाने योजना रहेको कार्यक्रम संयोजक एवम् तमू विद्यार्थी छोँज धीँ चितवनका अध्यक्ष सुमित गुरूङको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.