आज अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन ‘राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै छ ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोसाक संरक्षण अभियान भन्ने नारासहित टोपी दिवस मनाउन लागिएको हो ।
मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर, नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार