दीपा चालिसे
निरन्तर घुमिरहने घडिको सुईसँगै सेकेन्ड, मिनेट, घण्टा, दिन हँँुँदै आज कति छिटो तीनसय ६५ दिन पुगेर घुम्दै फिर्दै अङ्गेजी नयाँ वर्ष सन् २०२३ ले सबैको घर आँगनमा पाइला टेकिसकेको छ । सन् २०२२ लाई विभिन्न आरोह–अवरोहबीच बिदाई गर्दै हर्ष, उल्लास, उमंगका साथ अङ्गेजी नयाँ वर्ष सन् २०२३ लाई स्वागत गरिसकेका छौं । विशेष गरी गएका वर्षहमा मुलुकमा के कस्ता गतिविधि भए, मुलुकको राजनीतिक अवस्था कस्तो रह्यो लगायतका विविध घटनाहरुको अनुभव गर्ने अवसर पाउनुका साथै आगामी दिनमा भएका भएका कमीकमजोरी केलाउने र त्यसलाई सुधार्ने मौका समेत पाउँछ । त्यसैले यो नयाँ वर्ष नयाँ, जोश, जागँर र उंमग र हर्ष, उल्लासका साथ मनाउने गरीन्छ । विशेष त सन् २०२२मा नेपालले विभिन्न घटना, राजनीतिक दलहरुको खिचातानी लगायतका धेरै कुराको सामना गर्नुप¥यो । सन् २०२२ लाई फर्केर हेर्दा विश्व समुदायले राजनीतिक परिवर्तन, आर्थिक उन्नति र संकट, प्राकृतिक प्रकोप, विकास र सुधारका विभिन्न घटनाबारे जान्ने, बुझ्ने र अनुभव गर्ने अवसर पाएको छ । विशेष गरी सन् २०२२ नेपालका लागि मिश्रित रह्यो । यसलाई शक्तिको श्रोत परिवर्तन र रूपान्तरणको प्रारम्भिक वर्षको रूपमा लिन सकिन्छ । सन् २०२२ नेपालको राजनीतिक क्षेत्रका लागि निकै महत्वपूर्ण रह्यो । यो वर्ष तीनवटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । निर्वाचनमा नयाँ दलहरूको उदयदेखि मतदाताले मतदानमार्फत आफ्ना रोजाइका जनप्रतिनिधि छनोट गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार बन्यो, नयाँ गठबन्धन बन्यो । पहिलेको सत्ता गठबन्धनमा एकाएक फेरबदल आयो ।
विद्यमान दलहरूको खिचातानी र अस्वस्थ गठबन्धन अनि नेतृत्वको कुर्सी मोहले वर्ष २०२२ मा नेपाली जनलाई पुराना भन्दा नयाँ नेतृत्वको चाहमा झनै वृद्धि गरेको पनि अनुमान लगाइएको छ । धेरै स्वतन्त्र व्यक्तिहरूले दल र पार्टीभन्दा माथि उठेर आफ्नो विचारधारा प्रस्तुत गरी उमेदवारी दिएकोमा समर्थन पाएका छन् । सन् २०२२ ले नेपाली राजनीतिक नक्षत्रमा बलेन्द्र शाह, गोपाल हमाल, हर्क साम्पाङ, रवि लामिछाने, तोशिमा कार्की लगायतका धेरै नयाँ दलहरुको उदय भएको छ । अब, यो वर्ष उनीहरूको वाचालाई सार्थक गर्ने अवसर हो । वर्तमान दलहरूबीचको विवाद, अस्वस्थ गठबन्धन र नेतृत्वको शक्तिप्रतिको मोहले यो वर्ष नयाँ नेतृत्व परिवर्तनको नेपाली इच्छालाई अझ बढाएको छ । यो राजनीतिक क्षेत्रमा बिस्तारै नयाँ पुस्तालाई हस्तान्तरण भइरहेको संकेत हुन सक्ने बुझिएको छ ।

त्यस्तै, अर्कोतिर नेपाललाई अर्थतन्त्रका हिसाबले हेर्न हो भने सन् २०२२ नेपालका लागि तनावपूर्ण नै रह्यो । एकातिर निर्वाचनबाट राज्य कोषमा भार थपिएको छ भने अर्कोतर्फ विश्वव्यापी आर्थिक मन्दी र तरलताले सेयर बजार, बैंकिङ, रियल स्टेट, आयात निर्यात लगायतका अधिकांश क्षेत्रमा नकारात्मक प्रभाव र सङ्कट परेको छ । अघिल्लो वर्षको महामारीले बल्ल बल्ल उठ्न खोजेको पर्यटन र अन्य व्यवसायहरू सन् २०२२ मा चाहेको जस्तो उठ्न सकेनन् । २०२२ मा सरकारी नेतृत्वले आर्थिक खाडललाई कम गर्न कुनै महत्वपूर्ण कदम चाल्न सकेन ।
त्यस्तै, सन् २०२२ मा नेपालले विभिन्न प्राकृतिक प्रकोप, दुर्घटना, लगायतका समस्याको पनि सामना गर्नुप¥यो । यस वर्ष मुस्ताङमा भएको विमान दुर्घटनाले २२ जनाको ज्यान लिएको छ । त्यस्तै बाढीका कारण पनि धेरै नेपालीले अकालमै ज्यान गुमाउनुपरेको छ । बाढीबाट सबैभन्दा प्रभावित कर्णाली प्रदेश परेको छ । उक्त प्रदेशमा कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । वर्षायाममा नेपालका विभिन्न भागमा धेरै सडक दुर्घटनाहरू भएका छन् । यो वर्ष ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनले नेपालीहरू गहिरो शोकमा डुबेका छन् । बिस्तारै धेरै नेपालीहरु कोरोनाको महामारीबाट विस्तारै निको हुँदै गइरहेका थिए । तर, पछि फेरि नेपालमा डेंगु महामारी फैलिएपछि धेरै नेपाली डेगुंको चपेटामा पर्नुप¥यो । जसको कारण धेरै नेपालीलाई हतोत्साहित बनायो ।
त्यस्तै गरी सामाजिक सञ्जालमा नेपाली नेटिजनहरुको सक्रियतामा वर्ष २०२२ मा केही कमी आएन । कहिले एमसीसी विरुद्धको आन्दोलन त कहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधी ह्याशट्यागहरु नेपाली डिजिटल इकोसिस्टममा निकै चले । टुकुचा खोला, महानगर पार्किङ, डोजर लगायतका कुराहरूले समाचारका शीर्षकहरूमा वर्ष २०२२ मा निकै चर्चा पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार