मितिः २०८१, २० आश्विन आईतवार

चितवनमा मंगलबारदेखि होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन हुने

चितवनमा होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन आउँदो मंगलबारदेखि हुन भएको छ । आज नारायणगढमा भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहाले आउँदो पुस १९ र २० गते भरतपुरको धावन रिक्रियसनमा सम्मेलन गर्ने जानकारी दिनुभएको हो ।
संघले समग्र व्यवसायलाई नै पर्यटन मैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकोले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरेको छ । सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै करिब सातसय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनको दोस्रो दिन भरतपुर महानगरपालिकाभित्र प्रतिनिधि र पर्यवेक्षकका लागि निःशुल्क सवारीसाधन सञ्चालन गरिने व्यवस्था मिलाएको संघले जनाएको छ ।

होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोरोना तथा आर्थिक मन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताउनुभयो । नारायणगढ बजारमा पनि अधिकांश सटरहरु अहिले बन्द भएको र व्यवसायमा पूरै मन्दी आएको उहाँको भनाई छ । उक्त सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्ने बताइएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्ने उक्त कार्यक्रममा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुती र कार्यशालाहरु पनि हुने बताइएको छ । राष्ट्रिय सम्मेलनबाट भरतपुर महानगरको पर्यटकीय गतिविधि चलायमान पनि हुने जनाइएको छ । उक्त सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चितवनका होटल व्यवसायी दिनेशकुमार चुके अध्यक्षको मुख्य दाबेदार रहनुभएको छ । विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी संघको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो । यसपटक हुने चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा उद्घाटन अघि भरतपुरको चौबिस कोठीबाट उद्घाटन स्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली गरिने जनाइएको छ ।