मितिः २०८१, २१ आश्विन सोमबार

कालिका नगरपालिकाले गर्ने भयो चितवनका पत्रकारको १० लाखको दुर्घटना बीमा

कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यको रु १० लाखको दुर्घटना बिमा गर्ने भएको छ । नगरपालिका र महासंघ बीच दुर्घटना बीमा सम्बन्धी आज एक कार्यक्रमका बीच सम्झौता भएको हो ।
नगरपालिकाका प्रमुख बिनोद रेग्मी र महासंघका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यबिधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।
कार्यबिधिमा बीमाका लागि नगरप्रमुख संयोजक भएको समिति रहेको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरी कार्यबिधि बनाईएको छ । आज सम्झौता भएसँगै प्रक्रिया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बीमा हुने रेग्मीले बताउनुभयो । यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताइएको छ । नगरप्रमुख रेग्मीले कसैको पनि दुर्घटना नहोस् र लाभान्बित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै उहाँले भैपरि आउने दुर्घटना पछि राहतका लागि बीमा कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
कालिका नगरपालिकाले यस अघि गत आर्थिक वर्षमा पत्रकारको रु सात लाखको दुर्घटना बीमा गराएको थियो । त्यस अघिल्लो वर्ष रु तीन लाखको दुर्घटना बीमा गरिएको थियो । अबका वर्षहरुमा कार्यबिधिनै बनाएर रु १० लाखको दुर्घटना बीमा गर्न लागिएको हो । यो बीमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई रु १० लाख र घाईते हुनेको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिने छ ।

नगरपालिकाका उपप्रमुख बिमला तामाङ्ले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताउनुभयो । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा दुईसय ७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर बाँकी सबैको बीमा गरिने बताउनुभयो । संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुशी प्रकट गर्दै उहाँले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष एवं सल्लाहकार राधेश्याम खतिवडा, पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरु, नगरपालिकाका वडा अध्यक्षहरु, र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.