मितिः २०८१, २० आश्विन आईतवार

बढ्दो चेक बाउन्स मुद्दा ः अनुसन्धानका लागि प्रहरील खोल्यो नयाँ शाखा

जिल्ला प्रहरी कार्यालय चितवनमा नयाँ शाखा स्थापना गरिएको छ । चेक बाउन्ससम्बन्धी आर्थिक अपराध बढेपछि चितवन प्रहरीले बैंकिङ कसुर अपराध अनुसन्धान शाखा बनाएर काम थालेको छ ।
चेक काटेर दिने व्यक्तिले लेखिएअनुसारको नगद बैंक खातामा भुक्तानीयोग्य रकम नभएमा चेक बाउन्स हुन्छ । भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । प्रायले यस्तो चेक नियतवश दिँदा अपराधको भागेदारी बन्नु परेको छ । समझदारीमा भएको लेनदेनमा विवाद उत्पन्न हुँदा वास्तविक पीडितहरुले अहिले प्रहरीमा उजुरी दिन थालेका छन् । घरजग्गा कारोबार, वैदेशिक रोजगारी, व्यापार व्यवसाय, सामान खरिद–बिक्री तथा लेनदेनसँग जोडिएका घटनामा चेक बाउन्समार्फत ठगी भइरहेको छ । यसले समग्रमा बैंकिङ कसुरका अपराध बढ्न गएको छ ।
दैनिक औसत पाँचवटा यस्ता मुद्दा प्रहरीकोमा आउने गरेको छ । बैंकिङ कसुरका मुद्दा दुईसय हाराहारीमा रहेको प्रहरीले जनाएको छ । करिब ५० वटा मुद्दा कानुनी प्रक्रियामा अघि बढेको छ । यस्तो मुद्दा अहिले उच्च अदालतले हेरिरहेको छ । चितवनको हकमा उच्च अदालत हेटौँडामा म्याद थप भई अनुसन्धान हुने गरेको छ ।
चेक बाउन्सका समस्या लिएर आउनेहरु बढेपछि भिन्न शाखा नै स्थापना गरेर काम भइरहेको चितवनको प्रहरी कार्यालयले जनाएको छ । कतिपयको अदालतबाट मुद्दा टुङ्गो लागेको र केही निवेदनहरुमा विवादित पक्षबीच छलफल गराई समस्या समाधान गरिएको बताइएको छ । आफ्नो कारोबार क्षमताले नथेग्ने कारोबार गरेका र गलत नियत पालेकाहरुको बदमासीले बैकिङ कसुरका अपराध बढेको चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारील बताउनुभयो । बैंक खातामा पैसा नभए पनि केही दिनपछिको चेक दिँदा तत्कालका लागि कारोबार सल्टिने र कतिपयले निर्धारित मितिमै खातामा पैसा जम्मा गरिदिदा चेक साटिने उहाँको भनाई छ ।
चेक बाउन्समार्फत ठगिएको भन्दै आउनेको संख्या बढ्दो क्रममा रहेकाले अन्य अपराधको तुलनामा बैकिङ कसुरका अपराध पनि दिनानुदिन बढ्दै गएको बताइएको छ । केहीले पद, प्रतिष्ठा र इज्जतका आधारमा कारोबार सल्टाउने गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताउनुभयो । पैसा नभएको खाताको चेक दिएर ठग्ने प्रवृत्ति बढेकाले बैंकिङ कसुरका मुद्दा बढेको उहाँको भनाई छ ।
बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन, २०६४ ले चेक अनादरको मुद्दालाई सरकार वादी हुने फौजदारी मुद्दामा समावेश गरेको छ । यो ऐनको दफा ३ को खण्ड (ग) मा आफूले खाता खोलेको बैंकमा पर्याप्त मौज्दात छैन भन्ने जानीजानी कसैलाई चेक काटिदिएमा बैंकिङ कसुर हुने बताइएको छ । यो ऐनको दफा १५ ले बिगो भराई बिगोबमोजिमको जरिवाना र तीन महिनासम्म कैद सजायको व्यवस्था गरेको छ ।