भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङ्क संकलन सुरुवात गरेको छ । उनीहरुले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्याङ्क संकलन थालनी गरेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाका २९ वटै वडामा तथ्यांक संकलन भइरहेको महानगरपालिकाका उपसचिव गणेश नेपालीले जानकारी दिनुभयो । वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।
कार्यक्रम स्थानीय तहको माग, आवश्यकताबमोजिम स्थानीय तहमार्फत सञ्चालन हुनेछ । स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन हुन लागेको बताइएको छ ।
महानगरपालिकाका सबै वडामा यसबारे पत्राचार गरी सकेको जनाइएको छ । वडा कार्यालयमार्फत पुस २२ गतेभित्र तथ्याङ्क संकलनपछि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले इच्छाएका कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइनेछ । वैदेशिक रोजगारबाट फर्केका इच्छुक व्यक्तिले नागरिकता र राहदानीको फोटोकपीसहित निर्देशिकाले तोकेको ढाँचामा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा निवेदन पेस गर्नुपर्ने बताइएको छ । विदेशमा सिकेको सीपको सदुपयोग गर्दै रोजगारीका अवसर सिर्जना गर्नका लागि कार्यक्रमले सघाउने नगर उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।