चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवको १४औँ संस्करण रोक्न माग गर्दै आज बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा यहि पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदीकिनारमा आयोजना हुन लागेको उक्त महोत्सव रोक्न माग गर्दै वातावरण संरक्षणकर्मीले रिट दायर गरेका हुन् ।
वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीहले नदी किनारमा फोहोर पुरेर बनाइएको स्थानबाट फोहोर ननिकाल्दासम्म महोत्सव रोक्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।
दायर गरिएको उक्त रिटमा भरतपुर महानगरपालिका, जिल्ला समन्वयन समिति चितवन, जिल्ला प्रशासन कार्यालय चितवन, वन तथा वातावरण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विपक्षी बनाइएको जानकारी दिइएको छ ।
नारायणी नदीकिनारमा फोहोरले खाल्डो पुरेर महोत्सव स्थल निर्माण गरिएपछि संरक्षणकर्मीहरुले यसअघि नै चरणबद्ध विरोधका कार्यक्रमहरु गर्दै आएका थिए । उनीहरुले भरतपुर महानगरपालिकालाई विरोधपत्र बुझाउनुका साथै माटो दान कार्यक्रमको आयोजनासमेत गरेका थिए ।