मितिः २०८१, २६ भाद्र बुधबार

नवलपुरबाट चितवन निकुञ्जभित्र जंगल सफारी खोलिदै

पर्यटनको प्रचुर सम्भावना रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जंगली सफारी हुने गरे पनि पहिलो पटक निकुञ्जको कोर एरियामा सफारी गर्ने प्रबन्ध गर्न लागिएको छ ।
जंगल सफारी ट्र्याक जिल्लाको सिख्रौली मध्यवर्ती क्षेत्र, शिसवार मध्यवर्ती क्षेत्र, लामिचौर मध्यवर्ती क्षेत्रमा पर्नेछ । यसले गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका र कावासोती नगरपालिकालाई छुने देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । ट्र्याक निर्माणका लागि चितवन राष्ट्रिय निकुञ्ज, होमस्टे तथा होटल एसोसिएसन नवलपुर, देवचुली नगरपालिकाकोे आर्थिक र शिसवार मध्यवर्ती उपभोक्ता समितिको प्राविधिक सहयोग रहने जनाइएको छ ।
“नवलपुरको पर्यटन प्रवद्र्धनमा यसले मुख्य भूमिका खेल्नाका साथै यो ठाउँको पहिचानका लागि ठूलो अवसरका रुपमा नगरले लिएको छ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो– “पर्यटकीय क्षेत्रमा निकै सम्भावना बोकेको देवचुली डाँडादेखि सिजी शाश्वतधाम र नारायाणी नदीमा पर्यटकहरुलाई रमणीयस्थल घुमाउनका निम्ति नगरपालिकाले विशेष योजना बनाएको छ ।”
पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई यसै वर्ष पर्यटकीय क्षेत्र घोषणा गर्ने तयारी गरिएको बताइएको छ । जङ्गल सफारीको बाटो निर्माणको सुरुवातमा रहेको र आगामी माघ ५ गते हुने चौथो देवचुली महोत्सवबाट पर्यटकलाई जंगल सफारी गर्ने व्यवस्था गरिनेछ । पर्यटकीय क्रियाकलापलाई अगाडि बढाउनाले त्यहाँको बस्तीको आर्थिक जीविकोपार्जनका लागि नयाँ सुरुआत हुने शिसवार मध्यवर्ती उपभोक्ता समितिले जनाएको छ ।