मितिः २०८१, २६ भाद्र बुधबार

आन्तरिक पर्यटकको रोजाइमा चितवनको जलदेवी पार्क

चितवनको भरतपुर महानगरपालिका–२ आँपटारीमा मा रहेको जलदेवीपार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । पार्कभित्र विभिन्न आकर्षक भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।
मुग्लिनतर्फबाट भरतपुर आउँदा नारायणगणढको प्रवेशद्वारको रुपमा रहेको आँपटारीमा अवस्थित रमणीय यस पार्क जलदेवी सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक पर्यटकलाई आकर्षित गर्न बनाएको हो । पर्यटन विकासका लागि जलदेवी पार्कको निर्माण गरिएको वन समूहका अध्यक्ष माधव देवकोटाले बताउनुभयो । आन्तरिक पर्यटक वृद्धिका लागि पिकनिक स्पोट, जिपलाइन, पोखरी, नयाँ पुस्ताले नदेखेका रोटे पिङ, ढिकी, रुखमा जनावरहरुको चित्र, पृथ्वीमाथि बसेको चिल, फाइबरबाट बनेको जोडी बाघ, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सीलगायतका संरचना रहेका छन् । पर्यटकलाई थपआकर्षण गर्न ट्रि हाउस (रुखमाथि घर) बनाइएको र यसबाट बाह्यपर्यटकहरु सजिलै भित्र्याउन सकिने देवकोटाको भनाई छ । धार्मिक पर्यटक भित्र्याउनका लागि पार्कभित्र शिवलिङ्ग पनि निर्माण गरिएको छ । उक्त शिवलिङ्ग २२ फिट अग्लो रहेको र अबको एक महिनापछि उक्त शिवलिङ्ग सञ्चालनमा आउने जनाइएको छ ।

नौ ओटा वनभोज स्थल रहेको पार्कमा वनभोज खान तथा घुम्न गरी वार्षिक एक लाख मानिस आउने गरेकका छन् । विशेष गरी हाल पिकनिकको लागि आन्तरिक पर्यटकहरु आइरहेको बताइएको छ । पिकनिको समयमा दैनिक रुपमा करिब १४ टिम पिकनिकका लागि आउने गरेका छन् ।
पार्कमा प्रवेश शुल्क २० रुपैयाँ रहेको छ । त्यस्तै, टोलीसँग पिकनिकका लागि आउनेलाई दुई हजारदेखि २५ सय रुपैयाँ शुल्क तोकिएको छ । सामुदायिक वनकाअनुसार पार्कले वनभोज लगायतका पर्यटकीय गतिविधिबाट वार्षिक पाँचदेखि सात लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छ । पूर्वी बर्दिबास, नुवाकोट, तनहँुको खैरहनीलगायत ठाउँबाट पिकनिकको लागि अथवा दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् ।
यस पार्कभित्र बालबालिकाको आकर्षण बढाउनका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । उक्त चिल्ड्रेन पार्कमा प्रवेश शुल्क १० रुपैयाँ रहेको र बालबालिकाको लागि खेल्नको लागि विभिन्न गेमहरु रहेका छन् । पार्कलाई थप आकर्षक बनाउनका लागि १८ कठ्ठामा फैलिएको पोखरीमा पुल बनाउने, रुखबाट डोरी टाँगेर खेलिने गेम बनाउने काम भइरहेको जनाइएको छ । सबै संरचना निर्माण भएपछि उक्त पार्क नमूना पर्यटकीय केन्द्रका रुपमा विकास हुने बताइएको छ ।
२०६२ सालबाट सञ्चालनमा आएको उत्त, पार्क कोरोनाको कारण तीन वर्षसम्म नचल्दा २० लाख रुपैयाँको नोक्सानी बेहोर्नु परेको अध्यक्ष देवकोटाले गुनासो गर्नुभयो । अहिले पार्कमा पर्यटकको संख्या बढ्दै गएको छ । सामुदायिक वनको कुल चारसय १९ हेक्टर क्षेत्रफलमध्ये एकसय ९९ हेक्टर वन हस्तान्तरित वन क्षेत्र र बाँकी संरक्षित वनको रुपमा रहेको छ । वनको क्षेत्रफलमध्ये ३.५ हेक्टर क्षेत्रफलमा पार्क तथा पिकनिक स्पोट निर्माण गरिएको हो ।