नेपालगन्ज उपमहानगरपालिकामा एक सातायता दादुरा महामारी फैलिएपछि आजदेखि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । महामारीको जोखिम देखिएका वडाहरूका छ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार नौसय ९६ बालबालिकार्लाइ खोप लगाइँदै छ । दादुरा रुबेलाका लक्षण देखियमा नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गरी बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभएको छ । एक साताअघि चार जनामा सत्रंमण देखिएको थियो । हालसम्म नेपालगन्जका ३१ जनामा दादुरा देखिएको छ ।
दादुराकै कारण बुधबार नेपालगन्जका एक बालकको मृत्युसमेत भइसकेको छ । एक सातायता तीव्र गतीमा फैलिरहेको दादुरा महामारीको अझैसम्म नियन्त्रणमा आउन सकेका छैन । एउटा टोल तथा बस्तीमा पाँच जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीका रूपमा लिने गरिन्छ ।
उपमहानगरका वडा नम्बर ५,७, ८, १०, १५ र २२ का बालबालिकामा दादुरा धेरै देखिएको छ । दादुराको संक्रमण सबैभन्दा बढी ५देखि१५ वर्ष मुनिका बालबालिकामा देखिएको स्वास्थ्य महाशाखाले जनाएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।