सिरहाको एक विद्यालयमा पानी भनेर स्प्रिट पिउँदा एक जना छात्राको ज्यान गएको छ । सिरहाको मिर्चैया नगरपालिका–६ सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको हिजो शनिवार साँझ कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
महराले अस्ति शुक्रवार पेट दुखेपछि औषधि खान पानी मागेपछि शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएकाले उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।
उहाँको मृत्युपछि स्थानीयवासीले आन्दोलन गरेका छन् । शिक्षिकाको लापरबाहीले मृत्यु भएको भन्दै आज बिहानैदेखि विद्यार्थीहरु पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् । स्थानीयवासीले इलाका प्रहरी कार्यालय मिर्चैयामा ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढाबाट कार्यालयमा क्षति पुग्नुका साथै पाँच जना प्रहरी घाइते भएका मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो ।