मितिः २०८१, २० आश्विन आईतवार

मधेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मधेश प्रदेश सभाका एकसय सात सदस्यमध्ये ६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो । यो प्रदेशसभामा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको आवश्यक पर्छ ।

उहाँलाई आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका नौ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक तथा स्वतन्त्र प्रदेशसभा सदस्य गरी ६३ जनाले समर्थन गरेका थिए ।
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रमुख मिश्रले पुस २८ गते अपरान्ह ४ बजेसम्मको समय तोक्नुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त हुुनुभएका यादव मधेश प्रदेशका निवर्तमान सभामुख समेत हुनुहुन्छ ।

उहाँ २०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । पछि संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर जसपा भएको थियो । त्यसपछि जसपा विभाजन हुँदा उहाँ उपेन्द्र यादव नेतृत्वको जसपामै बस्नुभएकोे थियो ।
उहाँ गत मंसिर ४को चुनावमा बारा क्षेत्र नं. १ (ख) बाट निर्वाचित हुनुभएको थियो । यसअघि २०७४ मा पनि उहाँ सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।