मितिः २०८१, ७ चैत्र शुक्रबार

लुम्बिनी केबलकार फागनुदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।
आज शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताउनुभएको छ ।
केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ र टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेका बताइएको छ ।
केवलकारको सम्पूर्ण गोण्डोला लगायतका उपकरणहरुको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ नौवटा टावर मध्ये सातवटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी दुईवटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको ढकालको भनाइ छ ।
टप स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको छ । यसका साथै सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य समेत द्रुतगतिमा अगाडि बढिरहेको जनाइएको छ । यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पौष महिनामा सुरु भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.