मितिः २०८१, २६ भाद्र बुधबार

बीस लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । उच्च अदालत, पाटनमा २० लाख रुपैयाँ धरौटी बुझाएर उहाँ छुट्नुभएको हो । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न हिजो बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
लामिछानेलाई धरौटीमा छाड्न अदालतले पीडितसँग सम्पर्क गर्न नपाउने, विदेश जान नपाउने, काठमाडौं उपत्यका पनि छाड्न नपाउने र यदि छाड्नै पर्ने अवस्था आएमा जिल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने लगायतका पाँचवटा शर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुग्नुभएका लामिछाने जाहेरी परेको करिब एक महिनापछि गत असोज २०मा नेपाल फर्किनुभएको थियो । सोही दिन प्रहरीले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।