मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले एक समारोहका बीच यादवलाइ शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री यादवले आफ्नो मातृभाषा भोजपुरीमा शपथ ग्रहण गर्नुभएको छ ।
मुख्यमन्त्रीसँगै अन्य तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जनमत पार्टीका वसन्त कुशवाहा र जनता समाजवादी पार्टीका सञ्जय यादवले शपथ लिए पनि मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उक्त शपथ ग्रहण कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव, जसपा सङ्घीय संसदीय दलका नेता रामसहायप्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत लगायतको सहभागिता रहेको थियो । शपथ ग्रहण गर्नुअघि मुख्ख्यमन्त्री यादवले जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर पुगेर विशेष पूजाअर्चना समेत गर्नुभएको थियो ।