पोखरा विमान दुर्घटनामा दुख व्यक्त गर्दै सरकारले आज सार्वजनिक विदा दिएको छ । आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भएकाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज शोक बिदा दिई राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । अत्यावश्यक सेवाका रुपमा रहेका अस्पताल तथा स्वास्थ्थ केन्द्र, एम्बुलेन्स सेवा, औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा, फोहोरमैलाको सङ्कलन लगायतका सेवा भने सञ्चालन हुने गृह मन्त्रालयले जनाएको छ ।
सरकारले शोक बिदा दिने निर्णयको भने सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । बिदाभन्दा पनि पीडितको परिवारलाई छिटो राहत वितरण तथा आउँदा दिनमा दुर्घटना हुन नदिनको लागि आवश्यक पहल गर्नुपर्नेमा धेरैको सुझाव छ ।
त्यस्तै उक्त विमान दुर्घटनाको शोकमा यति एयरलाइन्सले पनि आजको लागि निर्धारित सबै उडान रद्द गरेको छ । आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ ।