मितिः २०८१, १२ माघ शनिबार

वर्षेनि बढ्दै सडक दुर्घटना, सात वर्षमा तेह्र हजारले गुमाए ज्यान

दीपा चालिसे

मुलुकमा वर्षेनि सडक दुर्घटनाका घटना बढ्दो छ । यहि बढ्दो सवारी दुर्घटनाको कारण धेरैले अकालमा ज्यान गुमाइसकेका छन् भने केहि अंग–भंग भएर जीवन र मृत्युको दोसाधमा छटपटाइरहेका छन् । विशेष गरी यान्त्रिक परीक्षणबिनै सवारी गुडाउने, चालकले मादक पदार्थ सेवन गर्ने, इन्जिनियरिङबिनै सडक खन्ने, पैसा कमाउने लोभमा चालकले आराम नगर्ने, द्रुत गतिमा सवारी गुडाउनेजस्ता कारणले सडक दुर्घटनाका घटना दिनानुदिन बढिरहेको हो । यसरी दिनप्रतिदिन हुने दुर्घटनाको कारण पहिचान गरेर त्यस्ता गतिविधि नियन्त्रण गर्नेतर्फ सरकारले ध्यान दिन सकेको छैन ।
सरकारको वेवास्ताका कारण मुलुकमा वर्षेनि सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको अवस्था निकै डरलाग्दो छ । यहि सडक दुर्घटनाका कारण सात वर्षमा करिब १३ हजार जनाले ज्यान गुमाइसकेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२७–७३ यता उक्त सडक दुर्घटनाबाट १२ हजार नौसय ९६ जनाको ज्यान गएको हो । त्यस्तै सडक दुर्घटनाबाट एकहजार दुईसय ८६ जना अंगभंग भएका छन् ।

गत मंसिर २७ मा काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनामा परी एकै परिवारका आठसहित १८ जनाको मृत्यु भएको थियो । गत असोज २० मा हेटौंडाबाट वीरगन्ज गइरहेको बस बाराको अमलेखगन्जमा दुर्घटना हुँदा १६ जनाले अकालमै ज्यान गुमाएका थिए । त्यस्तै २०७८ फागुनमा पनि संखुवासभाको मादीबाट झापा जाँदै गरेको बस मादीकै पुलुङमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । त्यही वर्षको असोज २६ मा फेरि बाँकेको नेपालगन्जबाट मुगुको गमगढी जाँदै गरेको बस मुगुको छायानाथ (पिना) मा दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७२–७३ मा सडक दुर्घटनाबाट एकहजार सातसय १४ को ज्यान गएको थियो भने एकसय छ जना अंगभंग भएका थिए । त्यस्तै गरी आ.व २०७३–७४ मा आईपुग्दा अघिल्लो वर्षको तुलनामा दुर्घटनाको संख्या बढ्दो छ । उक्त आ.व.मा दुईहजार ४४ को मृत्यु भएको थियो भने एकसय आठजना अंगभंग भएका थिए । त्यस्तै गरि आ.व.२०७४–७५ मा सडक दुर्घटनाबाट दुई हजार एकसय ६७ को मृत्यु र एकसय ५३ जना अंगभंग भएका थिए । यस्तै २०७५–७६ मा दुईहजार दुईसय ८४ को मृत्यु र दुई सय ५६ जना अंगभंग, २०७६–७७ मा एकहजार सातसय ४७ को मृत्यु र दुईसय २३ जनाको अंगभंग भएको थियो । त्यस्तै, २०७७–७८ (कोभिड काल) मा दुर्घटना र मृत्युको दर घटेको थियो । त्यो वर्ष दुर्घटनामा परी एकसय २२ जनाले ज्यान गुमाएका थिए भने आठजना अंगभंग भएका थिए । २०७८–७९ मा आईपुग्दा भने सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दुईहजार दुईसय १८ पुग्यो भने तीन सय आठ जना अंगभंग भए । चालु आर्थिक वर्षको छ महिनामा सात सयभन्दा बढीले सार्वजनिक र निजी सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.