यही पुष २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा शुरु भएको आठौं खिचरा महोत्सव आज सकिँदै छ । एक हप्ता सञ्चालन भएको महोत्सवको समापन विकास मन्त्री विक्रम पाण्डेले गर्देै हुनुहुन्छ । राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका पाण्डे मंगलबार मात्रै मन्त्री पदमा नियुक्त हुनुभएको हो । उक्त कार्यक्रममा माडी, खैरहनी, राप्ती, कालिका र रत्ननगर नगरपालिका तथा भरतपुर महानगरपालिकाका प्रमुखको समेत उपस्थिति हुने आयोजकले जनाएको छ ।
महोत्सवमा अवधिभर नै सांस्कृति पहिचान दिलाउने खालका मौलिक प्रस्तुतिलाई विशेष प्राथमिकतामा राखेको थियो । महोत्सवलाई संगीतमय बनाउनका लागि विभिन्न विधाका कलाकारले प्रस्तुति दिएका थिए । साथै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका थारुहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए। यस्तै गरी बाल प्रतिभालाई बाहिर ल्याउनका लागि चित्रकला प्रतिययोगिता र विद्यालयस्तरीय खिचरा डान्स आइडलसमेत आयोजना गरिएको थियो । त्यसबाहेक भलिबल, तेक्वान्दो, पेहनी होडलगायतका खेलकुदसमेत प्रतियोगितात्मकरूपमा आयोजना गरिएको थियो ।
कृषि प्रदर्शनीसमेत राखिएको महोत्सवमा पहिलो दिनदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय थारु खानाका परिकार व्यापार÷व्यवसायलगायत गरी करिब एकसय ५० स्टल राखिएको थियो । महोत्सवमा थारु मिनी संग्रहालय, बाल उद्यान, कलाकारको प्रस्तुतिलगायत मुख्य आकर्षणको रूपमा रहे । व्यापार, कृषि, पर्यटन, थारु कला, संस्कृति र थारु खानाको सम्बद्धर्न गर्ने उद्देश्यसहित थारु कल्याणकारी सभा क्षेत्र नं.७ ले प्रत्येक वर्ष खिचरा महोत्सव आयोजना गर्दै आएको छ ।