मितिः २०८१, २० आश्विन आईतवार

सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

प्रतिनिधिसभाको सभामुख पदका लागि नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेको संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहनुभएको छ । झापा–२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बन्नुभएका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिनु भएको थियो । सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्तारुढ दलहरुबीच सहमति भएको थियो ।

एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघु पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा हुनुहुन्थ्यो । सभामुख चयनका लागि भोलि निर्वाचन हुँदैछ । गत पुस २६ गतेको प्रतिनिधिसभाको बैठकले यही माघ ५ गते सभामुखको निर्वाचन गर्न निर्वाचन तालिका प्रकाशित गर्ने निर्देशन दिएको थियो । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्य मध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुख मध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान रहेको छ ।
विसं २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उहाँले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गर्नुभएको थियो । विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुनुभएको थियो । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गर्नुभएको थियो । अहिले उहाँ एमालेको स्थायी समिति सदस्य हुनुहुन्छ ।