मितिः २०८१, ७ चैत्र शुक्रबार

पोखरा हवाई दुर्घटना ः अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

पोखरा हवाई दुर्घटनामा ज्यान गुमाएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ ।
काठमाडौं लगिएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको बताइएको छ । शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीका अनुसार ती शव अत्यधिक रुपमा जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ । आज बेलुकीसम्म पनि शव पहिचान गर्न कोसिस गर्ने उहाँको भनाई छ ।
उहाँका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डीएनए परीक्षण गरिने बताइएको छ । डीएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने अस्पतालले जनाएको छ ।
फरेन्सिक जाँचका लागि ४८ जनाको शव काठमाडौं लगिएको थियो । यस्तै पोखरामा २२ जनाको शवको फरेन्सिक जाँच गरिएको छ । यही माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एअरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.