मितिः २०८१, २० आश्विन आईतवार

भरतपुरमा आजदेखि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन, उपमेयर अधिकारीद्वारा उद्घाटन

भरतपुर महानगरपालिका वडा न २१ ले आज मंगलबारबाट निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याएको छ । लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र भरतपुरको सहजीकरणमा आयोजना गरिएको कार्यक्रमलाई भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले समाज परिवर्तनका संवाहक युवाहरूको लागि यो तालिम निकै प्रभावकारी हुने बताउनुभयो । युवाहरुमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन वडाले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको उहाँको भनाई छ । उपप्रमुख अधिकारीले अब राज्यका सबै तह र तप्कामा यस वडाका युवायुवतीहरुको पहुँच पुग्ने छ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको पनि बताउनु भयो ।
समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उपप्रमुखले युवाहरु जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । भरतपुर २१ का युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै भविष्यमा वडा समृद्ध बन्नेमा उहाँको विश्वास छ । सोही कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्णकुमार गुरुङले लोकसेवा आयोगमा यस क्षेत्रका युवाहरुको पहुँच र सहभागिता उल्लेख्य रुपमा हुन नसकेको भन्दै वडाले युवाका लागि नायव सुब्बा र खरिदार पदको लोकसेवा तयारी कक्षा सञ्चालन गरेको प्रष्ट पार्नुभयो ।


युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको वडा सचिव पन्चमाया तामाङले जानकारी दिनुभयो । वडा कार्यलयले नायव सुब्बा र खरिदार पदको तयारीका लागि निःशुल्क ६० घण्टे कक्षा सञ्चालन गरेको सचिव तामाङको भनाइ छ । तयारी कक्षामा ५० जना युवायुवती सहभागी भएका छन् । वडाले अब आउँदो फागुन महिनामा करसम्बन्धी तालिम तथा बुटिक तालिमको पनि आयोजना गर्ने जनाएको छ ।