पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ लगिएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।
अस्पतालका फरेन्सिकविद् डा तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताउनुभयो । छ जनाको अब शव ‘डीएनए’ परीक्षणबाट पहिचान गरिने उहाँको भनाई छ ।
६ जनाको शव अत्यधिक जलेको हुनाले फरेन्सिक र फिङगर फ्रिन्ट विधिबाट पहिचानमा समस्या आएपछि डीएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेको बताइएको छ ।
नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डीएनए’ परीक्षण गरिने छ । ‘डीएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना संकलन गर्ने कार्य भइरहेको जनाइएको छ । उक्त विधिबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्ने छ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ लगिएको थियो भने २२ जनाको शव पोखरामा जाँच गरिएको थियो ।
गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।