पोखरा–१३ काहूँखोलामा हिजो आइतबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते हुनुभएकी महिलाको मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको आज सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।उपचारकै क्रममा उहाँको आज बिहान ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिनुभयो ।
सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आउनुभएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले हिजो आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेपछि उहाँलाई बचाउने क्रममा सापकोटा सख्त घाइते हुनुभएको थियो ।
घाइते दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पु¥याएका थिए ।अस्पतालमा उपचार गराइरहनुभएका क्षत्रीको हात, खुट्टा र अनुहार जलेको र हालसम्म उहाँको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । उहाँले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन ।