पाकिस्तानको पेशावरमा हिजो सोमबार दिउँसो आत्मघाती विष्फोट हुँदा ५९ जनाको ज्यान गएको छ भने एकसय ५७ जना घाइते भएका छन् ।
प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी आत्मघाती विष्फोट भएको थियो । मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्रमध्ये एक हो । त्यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद विरोधी व्युरोका कार्यालयहरु छन् ।
उच्च सुरक्षा प्रवन्ध मिलाइएको क्षेत्रमा भएको विष्फोटपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निन्दा गर्दै आतंकवादीहरुले पाकिस्तानको रक्षा गर्नेहरुलाई निशाना बनाएर डर पैदा गर्न खोजेको टिप्पणी गर्नुभएको छ । प्रम शरीफले आतंकवादविरुद्ध पूरा देश एकजुट रहेको पनि बताउनुभएको छ ।
विष्फोटको समयमा उक्त क्षेत्रमा करिब चारसय प्रहरीहरु रहेको अनुमान गरिएको छ । शुरुमा पाकिस्तानको तालिबानका एक कमाण्डरले घटनाको जिम्मेवारी लिएका थिए । तर त्यसको केहीबेरमै उक्त संगठनले आक्रमणमा संलग्नता नरहेको बताएको छ ।
तालिबानले गत नोभेम्बरमा पाकिस्तानमा युद्धविराम अन्त्य भएको घोषणा गरेको थियो । त्यसयता हिंसाका घटना भइरहेका छन् । गत डिसेम्बरमा पनि पेशावरमै एक प्रहरी स्टेशनमा आक्रमण भएको थियो ।