चितवनको इच्छाकामना गाउँपालिकाले पहाडी भुगोलमा रहेका किसानहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीको लागि कृषि एम्बुलेन्स खरिद गर्ने भएको छ । विशेष गरेर गाउँपालिकाको वडा नं. १, २ र ७ को पहाडी भू–भागमा रहेका किसानहरुलाई लक्षित गरि उक्त एम्बुलेन्स खरिद गर्ने तयारीमा लागिएको हो ।
यसका लागि गाउँपालिकाले साझेदारीमा ४० लाख रुपैयाँको बजेट व्यवस्थापन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले बताउनुभयो । गाउँपालिकाले उक्त बजेटबाट तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने उहाँको भनाई छ । स्थानीय कृषि समूह तथा सहकारीहरुसँग सहकार्य गरी ती एम्बुलेन्स सञ्चालन गरिनेछ । साथै कृषि एम्बुलेन्समा सहकारीको २५ प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र नेपाल सरकारको ५० प्रतिशत लगानी रहनेछ ।
यस्तै किसानहरुले आफ्नो उत्पादन सहज र सर्वसूलभ मूल्यमा बजार ढुवानी गर्न सक्ने वातावरण बनाउनको लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो । कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिदै अगाडी बढेकोले आफूहरुले कृषि उत्पादन बजारीकरणका थुप्रै योजनाहरु ल्याएको उहाँको भनाई छ ।
उक्त योजनामा कृषि एम्बुलेन्स पनि परेको छ । यसले किसानहरुको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पु¥याउन सके उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यतिकै खेर फेल फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको गुरुङको तर्क छ । साथै गाउँपालिकाले कृषि उत्पादनलाई जोड दिदै कृषकहरुको लागि बाझो जमिनमा व्यावसायिक खेती गर्ने किसानहरुको लागि लाखौ रुपैयाँ अनुदानको व्यवस्था समेत गरेको बताइएको छ ।