हेटौँडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरले करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो ।
मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना कर्मचारीलाई हटाइएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो । उपमहानगरले परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरिकन तोक आदेशका भरमा जागिर खाएका चौथो तह, पाँचौँ तह र छैटौँ तहसम्मका ७१ जना कर्मचारी हटाइएको उहाँको भनाई छ । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारी हटाइएको हो ।
उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारीदेखि भर्खर नियुक्त भएका कर्मचारीसमेतलाई हटाइएको हो । साउनदेखि पुस मसान्तसम्मका लागि करार गरिएका कर्मचारीको म्याद नथपिएको उपमहानगरले जनाएको छ ।