परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गर्नुभएको छ ।
उहाँलाई श्रीलंकाको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रले आयोजना गर्ने रात्रि भोजमा सहभागी हुनुहुनेछ ।सो अवसरमा उहाँले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । त्यस्तै भोलि शुक्रबार पौड्याल श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै पर्सि २१ गते श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धधनेसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । परराष्ट्रमन्त्री पौड्याल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।