चितवनको पटिहानीमा आजदेखि दुर्लभ एकसिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल सुरु हुँदैछ । थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ मा तीन दिनसम्म हुने उक्त छलफलमा एसियाका पाँच देशका उच्च अधिकारीहरूको सहभागी रहनेछ । छलफलमा नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारीको सहभागीता रहने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तले जानकारी दिनुभयो । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुने जनाइएको छ ।
यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ सहभागी हुने पन्तले जानकारी दिनुभयो । फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । उहाँका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदान–प्रदान गर्नुहुनेछ । विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा भारत र नेपाल दुवै देशमा पाइन्छ । यसको संरक्षणमा देखिएका चुनौतीहरूका विषयमा बृहत् छलफल गरी आगामी योजनाहरू तय गरिने बताइएको छ । यसअघि पहिलो बैठक इण्डोनेसिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो ।