पूर्वसांसद रेशम चौधरीले आफूविरुद्ध जन्मकैदको फैसला खारेज हुनुपर्ने माग राखी दायर गरेको मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ ।
टीकापुर घटनासम्बन्धी मुद्दामा चौधरीसहित १२ जनाको मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ ।यसअघि आठ पटकसम्म साधारण तारिख र छ पटक पेसी सरिरहेको यो मुद्दाको आज बहस हुने बताइएको छ ।
२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । उक्त घटनामा रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
फागुन १२ गते रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदनमाथि आज बहस हुने बताइएको छ । उक्त मुद्दा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको इजलासमा पेसी तोकिएको छ । थुनुवा १० नम्बरमा चौधरीको मुद्दा पेसी रहेको छ ।जिल्ला अदालतले ११ जनालाई जन्मकैदको फैसला सुनाएको र उच्च अदालत दिपायलले आठ जनालाई जन्मकैदको फैसला सुनाएको हुँदा सरकारी वकिलले पनि झझी (झगडिया झिकाऊ) कै लागि बहस गर्ने बताइएको छ । रेशम पक्षका कानून व्यवसायीले रेशम निर्दोष रहेको भन्दै झझीका लागि बहस गर्ने छन् ।
टीकापुर घटनाको सन्दर्भमा न्यायाधीशले झझी (झगडिया झिकाऊ)का लागि फैसला गरे टीकापुर घटनाका विषयमा थप बहस हुने छ । तर, न्यायाधीशले उच्च अदालतकै फैसला सदर गरे अदालतीय प्रक्रियामार्फत रेशम रिहाइको बहस सकिनेछ ।