मितिः २०८१, २० आश्विन आईतवार

दुई गैंडा मारिएको घटनामा चितवन राष्ट्रिय निकुञ्जले थाल्यो अध्ययन

खागका लागि तस्करले बिजुलीको करेन्ट लगाउँदा दुईवटा गैंडा मरेको घटनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसन्धान थालेको छ । विभागले माघ ११ मा उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको थियो । तस्करले बिजुलीको करेन्ट लगाएर गैंडा मारेको घटना विरलै हुने गरेको छ । नौलो घटना भएका कारण सुरक्षा रणनीति बनाउन अध्ययन टोली बनेको हो ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार माघ ६ गते मध्याह्न दुईवटा गैंडा मृत फेला परेका थिए । निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत भुताहा पोस्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा पर्ने नारायणी नदीको उत्तरी किनारमा अन्दाजी १४ वर्षको पोथी गैंडा र अर्को अन्दाजी चार वर्षको भाले बच्चा गैंडा मृत भेटिएका थिए । बच्चा गैंडाको पलाउँदै गरेको खाग सुरक्षित रहे पनि माउको खाग काटेर लगेको हुँदा तस्करले नै गैंडा मारेको पुष्टि भएको थियो । गैंडाको पोस्टमार्टम गर्दा करेन्ट लागेर मरेको प्रस्ट भएको सूचना अधिकारी तिवारीको भनाई छ । नदी किनारको मन्दिर आड र घटनास्थलमा भेटिएको विजुलीको तार एउटै भएका कारण मन्दिरबाटै तार टाँगेर लगेर गैंडा मारेको देखिएको बताइएको छ । करेन्ट लागेर गैंडा मरेको पोस्टमार्टमले पुष्टि गरेको जनाइएको छ । बिजुली मन्दिरबाटै लगिएको देखिएकको भएपनि अनुसन्धानको अन्तिम नतिजा नआएको जनाइएको छ ।