मधेस प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रलाई पनि सरकारमा सहभागी गराएर तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।
माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारी नियुक्त हुनुभएको छ । उहाँहरुको आजै शपथ ग्रहण हुनेछ । भागबण्डामा एउटा मात्रै मन्त्रालयले दिएपछि असन्तुष्ट भएको माओवादी सरकारमा सहभागी भएको थिएन । तर, केन्द्रीय नेतृत्वको हस्तक्षेप पछि सरकारमा सहभागी हुने निर्णय गरिएको माओवादीले जनाएको छ ।
यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते छ जना मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । अब मधेस सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् हुनेछ ।