मितिः २०८१, २६ भाद्र बुधबार

टर्कीमा हिजो गएको शक्तिशाली भुकम्पका कारण ४३ सय भन्दा बढिको गयो ज्यान

सिरियाको सीमा नजिकै टर्कीमा हिजो सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । हालसम्म दुई वटा देशमा गरी ४३ सयभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।
विभिन्न देशबाट प्रविधिसहितका विशेषज्ञको टोली आएर खोज्ने क्रम सुरु भएसँगै ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्ने बताएको छ । उद्धारकर्मीहरूले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् ।
वर्षासहित हिउँ परिरहेकाले खोजी कार्यमा समस्या भइरहेको बताइएको छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा रहेका छन । उक्त ठाउँमा प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् । दुवै देशका हजारौँ भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरु घाइतेले भरिएका छन् ।
टर्की रेड क्रिसेन्टले त्यहाँका नागरिकहरुलाई रक्तदान गर्न आह्वान गरेको छ । टर्कीले अन्तर्राष्ट्रिय सहयोग अपिल गरेपछि ४५ देशहरूले सहयोगको प्रस्ताव गरेको जनाइएको छ ।
युरोपेली संघले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको छ भने बेलायतले ७६ जना विज्ञ, उपकरण र उद्धार गर्ने कुकुर पठाएको जनाएको छ । फ्रान्स, जर्मनी, इजरायल र अमेरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले एक करोड अमेरिकी डलरसहित विशेषज्ञ टोली पठाउने निर्णय गरेको छ ।
प्रभावित क्षेत्रका विद्यालयहरु कम्तीमा एक हप्ताको लागि बन्द गरिएका छन् । टर्कीमा यस अघि सन् १९९९ मा गएको भूकम्पका कारण १७ हजार र सन् १९३९ मा गएको भूकम्पका कारण ३३ हजार जना मानिसको ज्यान गएको थियो ।