मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ । उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ । ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ । २०७५ सालबाट निर्माण थालिएको सडकको काम ९० प्रतिशत सकिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिसलिङबाट शक्तिखोरसम्मको दूरी ४५ किलोमिटर छ । यस क्षेत्रको नौ किलोमिटर पहिला नै निर्माण भएको थियो । निर्माण भएको पुरानो स्थानमा थप फराकिलो पारेर नयाँ निर्माणको काम भएको ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयका व्यवस्थापक सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
अहिले नयाँ निर्माण भएको ३५ किलोमिटर सडकमा कालोपत्रे गर्ने कार्य धमाधम भइराखेको उहाँको भनाई छ । ३५ किलोमिटरमध्ये पाँच किलोमिटर जतिमा पहिरोको जोखिम हुने भएकाले त्यस स्थानमा कालोपत्रे गर्ने काम बाँकी रहेको छ ।पहिरोको जोखिमलाई समाधान गरेपछि मात्रै त्यहाँ कालोपत्रे गरिनेछ । अन्य स्थानमा अहिले कालोपत्रेको कार्य भइराखेको बताइएको छ । २० किलोमिटर क्षेत्रमा कालोपत्रे भएर ट्राफिक चिह्नसमेत निर्माण भएका छन् । अब यो सडक भएर यात्रा गर्न सकिनेछ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत प्रदेश सरकारको लगानीमा यो सडक निर्माण भएको हो । कार्यालयका अनुसार २०७५ फागुनमा ८७ करोड रुपियाँको लागतमा ठेक्का सम्झौता भएको थियो। कोभिड–१९, सामग्रीको अभाव, प्राकृतिक जोखिमलगायतका कारणले पाँच पटक म्याद थपिएर अहिले सम्पन्न हुने तयारीमा रहेको आयोजनाका व्यवस्थापक घिमिरेले जानकारी दिनुभयो ।
सोनाक्षी आशिष निर्माण कम्पनीले ठेक्का लिएको सडकको तीन स्थानमा पुल निर्माण गर्नुपर्नेछ । ती स्थानमा अहिले वैकल्पिक मार्ग निर्माण गरेर सवारीसाधन सञ्चालन भइराखेको निर्माण कम्पनीका इन्जिनियर सञ्जय महतोले जानकारी दिनुभयो । सडक निर्माणको मात्र ठेक्का लिएको कम्पनीले शक्तिखोलादेखि चितवनको पुरानो सदरमुकाम उपरदाङगढीसम्मको १० किलोमिटर क्षेत्रमा अहिले कालोपत्रेको काम भइराखेको उहाँको भनाई छ । अन्य स्थानमा कालोपत्रे भइसकेको र बीच भागको १० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्न बेस तयारी अवस्थामा राखिएकाले अब दुई हप्ताभित्र काम सकिने बताइएको छ ।
अहिले निर्माण सामग्री र अन्य कुनै विषयमा अवरोध नभएकाले आउँदो फागुन १५ गते अगाडि नै काम सम्पन्न हुने गरी तयारी अवस्थामा रहेको इन्जिनियर महतोले बताउनुभयो । कालोपत्रे सकिएपछि सडक चिह्न र बिग्रेको स्थानमा मर्मत गरिनेछ । अबको दुई हप्तामा यो सडक भएर सवारीसाधनले यात्रा गर्न सक्नेछन्। यस सडकको रिद्धि र शक्तिखोलामा पुल निर्माण गर्नुपर्नेछ। ती स्थानमा पनि पुलको ठेक्का लागिसकेको छ ।
पृथ्वी राजमार्गको फिसलिङ, शक्तिखोर हुँदै पूर्व–पश्चिम राजमार्गको टाँडीमा यो सडक जोडिन्छ । मुग्लिनको सडकमा पहिरो आएर बाटो बन्द भएको अवस्थामा अब साना सवारीसाधन तथा बस यही सडक भएर सञ्चालन गर्न सकिने आयोजनाले जानकारी दिएको छ । ठूला सवारीसाधनबाहेक अन्य साधन सञ्चालन गर्न समस्या नहुने ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यालयले जनाएको छ । सडक निर्माणपछि यस क्षेत्रका स्थानीयको आर्थिक अवस्था माथि उकासिने इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार चितवनको पुरानो सदरमुकाम ऐतिहासिक क्षेत्र उपरदाङगढीको अवलोकन गर्न आउने पर्यटकका लागि सहज हुनेछ । यस क्षेत्रमा उत्पादन भएको कृषि उपजले बजार पाउने भएकाले यो सडकको धेरै महत्व रहेको छ ।
दुई पालिका जोड्ने मात्र नभएर राजधानी काठमाडौँ जान अर्को वैकल्पिक सडकका रूपमा विकास भएकाले यसको महत्व ठूलो भएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताउनुभयो । आन्तरिक पर्यटक तथा पहाडी यात्रा गर्न चाहने सडकको ट्र्याक सञ्चालनमा आएदेखि नै हिँड्न थालेका थिए । पूर्वी चितवनबाट काठमाडौँ जान साना तथा मझौला सवारीसाधनका लागि यो सडक उपयोगी हुने भएको छ ।