मितिः २०८१, १२ माघ शनिबार

‘ए’ डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका धेरैजसो खेलाडी विदेश पलायन भएसँगै ‘ए’ डिभिजन लिगका क्लबहरूले खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो ।
‘ए’ डिभिजनका धेरैजसो क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए । खेलाडी थप गर्ने मागलगायत शहीद स्मारक ’ए’ डिभिजन लिग सञ्चालन सम्बन्धमा हिजो बुधवार बसेको बैठकले खेलाडीको कोटा बढाउने निर्णय गरेको एन्फाले जनाएको छ । अनुभवी खेलाडी पाउन मुस्किल भएको भन्दै क्लबहरूले कोटा थप्न माग गरेअनुसार अब क्लबले पाँच जना विदेशी खेलाडी टिममा समावेश गर्न पाउने एन्फाका प्रवक्ता सुरेश साहले बताउनुभयो । टिममा एक जना एसियाली र एक जना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको र एक खेलमा चार जना विदेशी खेलाडी खेल्न पाउने प्रावधान ल्याएको साहको भनाई छ ।

राष्ट्रिय टिमका धेरैजसो खेलाडी विदेश गएको र बजारमा समेत राम्रा खेलाडी पाउन नसकिएको भन्दै क्लबहरूले सामूहिकरूपमा विदेशी खेलाडीको कोटा बढाउन ‘ए’ डिभिजनका ११ वटा क्लबले आफ्नो मागसहितको पत्र लिग निर्देशक सञ्जीव मिश्रलाई बुझाएका थिए । पछिल्लो समय राष्ट्रिय फुटबल टिमका धेरैजसो खेलाडी अस्ट्रेलिया पुगेका छन् । तीन महिनामा डबल लिग सञ्चालन हुँदा खेलाडीको चोटको समस्यासमेत बढ्ने क्लबको चिन्ता छ । सोही कारण विदेशी खेलाडीको कोटा थप गर्दा टिमको तयारी सहज हुने भन्दै क्लबहरूले विदेशी खेलाडीको कोटा बढाउन माग गरेका थिए ।
इसअघि शहीद स्मारक ’ए’ डिभिजन लिगमा हरेक क्लबले चार जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । विदेशी खेलाडीको कोटा थप भएसँगै सुरुवाती–११ मा चार जना विदेशी खेलाडी राख्न पाइनेछ । एक जना विदेशी खेलाडी भने बेन्चमा रहनेछन् । नयाँ सिजनको ए डिभिजन लिग अब आउँदो फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिग डबल राउन्ड रोबिनको आधारमा हुनेछ । लिगका लागि पाँचौँ चरणसम्मको तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिकाअनुसार उद्घघाटन खेल खुमलटार युथ क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.