चितवनको पर्यटकीय नगरी सौराहामा पर्यटक भित्र्याउन हिजो आइतबार देखि फूड फेस्टिबल सुरु भएको छ । प्रणय दिबसको अबसर पारेर रेष्टुरेन्ट एण्ड बार एशोसियसन रेवान सौराहाले फेस्टिबल आयोजना गरेको हो । प्रणय दिबस मनाउन आन्तरिक पर्यटकहरु सौराहामा जान थालिसकेका छन् ।
सौराहाका अधिकांस होटलहरु भरिएका छन् । भोली अर्थात् फागुन २ गते पर्ने प्रणय दिबसमा सौराहामा पर्यटकहरु खचाखच हुन्छन् । अघिकाँस होटल बुकिङ भइसकेका छन् । सौराहामा विदेशी पर्यटकको संख्या पनि उत्तिकै छ । गन्तव्य घुम्न आएका विदेशी पर्यटकहरुले सौराहामै प्रणय दिबस मनाउछन् । सौराहा अहिले आन्तरिक पर्यटकले भरिएको छ ।
हिजो आइतबार मात्र सौराहामा दुईहजार पर्यटक भित्रिएको फेस्टिबलका संयोजक ध्रुव गिरीले बताउनुभएको छ । पर्यटक आगमनले आफूहरु उत्साहित भएको भन्दै संयोजक गिरीले ं सौराहाका स्थापित व्यवसायी समेत रहनुभएका संयोजक गिरीले पूmड फेस्टिबललाई पर्यटक भित्र्याउने दरिलो माध्यमका रुपमा विकास गर्ने बताउनुभएको छ ।प्रणय दिबस मनाउन परिवार तथा पे्रमिल जोडीको स्वागतका लागि व्यवसायीहरुले सौराहालाई सिंगारेका छन् ।
हात्तीचोक देखि गैंडाचोक सम्मको क्षेत्रमा डालोमा बत्ती राखेर भिलिमिली बनाइएको छ । प्रणय दिबस मनाउन अन्त जान नपर्ने गरी सौराहामै प्रणय दिबसलाई रोमान्टिक बनाउने गरी तयारी गरिएको छ । सडकमै खाऔं सडकमै रमाऔ भन्ने नाराका साथ हात्तीचोकदेखि ड्याक सम्म र मल्लुचोक देखि गैंडाचोक सम्मको बजार क्षेत्रमा व्यवसायीहरुले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किने छन् ।
सौराहाको मुख्य चोकमा हरेक साँझ विभिन्न जातजातीको झाँकी प्रस्तुत गरिने छ । झाँकीसंगै रमाएर सडक किनारमै आफुलाई मन पर्ने खानाका परिकार खान पाउने व्यवस्था गरिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताउनुभएको । सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच प्रदेश सरकारका पूर्व मन्त्री तथा सांसद कृष्ण खनालले उद्घाटन गर्नुभएको छ । सो अबसरमा उहाँले सौराहालाई परिमार्जन गर्दै लैजानुपर्ने अबस्था आएको बताउनुभयो ।
कोरोना महामारीले थलिएको पर्यटनलाई उठाउन नयाँ नयाँ कुराहरु ल्याउनु पर्ने सांसद खनालको भनाइ छ । पर्यटनसंग सम्बन्धित विकासलाई जोड दिंदै खानाको गुणस्तर सुधारमा समेत ध्यान दिनुपर्ने बताइएको छ । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको विकास यथास्थितिमा रहेको भन्दै व्यवसायीहरु एकजुट हुनपर्ने बताउनुभयो । स्थानीय सरकार र व्यवसायी बीचको एकताले मात्र सौराहाको विकास सम्भव रहेको भन्दै यहाँको पर्यटनको दायरा फराकिलो बनाउनुपर्ने उहाँको भनाई छ ।
सौराहालाई बाढीको जोखिमबाट जोगाउन फ्रेबिक ड्याक निर्माण र साइकल लेन सहित नमुना सडक निर्माण सुरु भइसकेको र अबको पाँच बर्ष भित्र नेपालकै नमुना पर्यटकीय गन्तव्य बनाउने जनाइएको छ । रेवानका केन्द्रीय अध्यक्ष अरनीकोराज भण्डारी निकुञ्जका कारण सौराहाको पर्यटन चलेको भन्दै जैविक विविधता जोगाउने तर्फ पनि व्यवसायी सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
फेस्टिबलमा हरेक दिन हुने सडक फुड विभिन्न जातजातिहरुको झाँकीहरुको प्रस्तुती रहने छ । तीन दिनसम्म सञ्चालन हुने फूड फेस्टिबलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला संस्कृति, विभिन्न जातजातीको झाँकी प्रस्तुत हुने फेस्टिबलका सहसंयोजक नवीन नेपालले जानकारी दिनुभयो । नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रिय स्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिबलमा दैनिक पाँचहजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।
रेवान सौराहाका अध्यक्ष नरेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष किरण महतो, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी, क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो । रेवानका महासचिब सुर्यबहादुर रिमालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा फेस्टिबल उद्घाटन हुनुपूर्व सौराहामा शोभायात्रा निकालिएको थियो ।