मितिः २०८१, २० आश्विन आईतवार

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायद्धारा काठमाडौंमा प्रदर्शन

सरकारले आज फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताउनुभएको छ ।
कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’–उहाँले भन्नुभयो– ‘‘जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको निरिहता दिवस भनेर मनाउनुपर्छ । जनयुद्ध दिवस भनेर सार्वजनिक बिदा दिनुजस्तो ज्यादती केही हुँदैन ।’
वर्तमान सरकार पीडितको नभई पीडकको पक्षमा उभिएको मानवअधिकारकर्मी चरण प्रसाईंले बताउनुभयो । हत्या, हिंसा गरेको दिनलाई दिवसको रुपमा मनाउनु नाजायज भएको उहाँको जिकिर छ ।