आज १४ फेब्रुअरी अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर प्रेम साटासाट गरी मनाइँदैछ । प्रणय दिवसको अवसरमा परिवार, साथीभाइलाई विभिन्न उपहार प्रदान गरी प्रेम, सद्भाव साटासाट गर्ने प्रचलन रहि आएको छ । विशेषगरी, यो दिवसमा गुलाबको फूल उपहार दिएर प्रेम आदानप्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमीप्रेमिकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरिन्छ । प्रेमका पक्षधर सन्तभ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको हो । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउन सपरिवार तथा पे्रमिल जोडी पार्क, आकर्षक गन्तव्यमा जाने प्रचलन छ ।
पछिल्लो समय मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा प्रणय दिवस मनाउने उत्कृष्ट थलोका रुपमा विकास भएको छ । देशका विभिन्न जिल्लाबाट प्रणय दिवस मनाउन विवाहित तथा प्रेममा रहेका जोडीहरु सौराहा पुग्ने गरेका छन् । विगत पाँच वर्षयता सौराहामा प्रणय दिवस मनाउनकै लागि मानिसहरु आउने गरेका छन् । भर्खरै प्रेममा परेका जोडीलाई समेत सौराहाले भेट गराउँदै छ । प्रणय दिवसमा परिवारसँग रमाउने, लामो समयदेखि प्रेममा रहेका र भर्खरै प्रेममा परेका जोडीलाई सौराहाले रोमान्टिक बनाउन भूमिका खेल्ने गरेको छ ।
सौराहाका व्यवसायीहरुले प्रणय दिवस मनाउन आउने युगल जोडीलाई समेत पर्यटकको रुपमा लिने गरेका छन् । सौराहा आउने सबै आफ्ना लागि पर्यटक भएको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन रेवान सौराहाका पूर्वअध्यक्ष राजन भट्टले बताउनभयो । प्रणय दिवस मनाउने उपयुक्त थलोका रुपमा सौराहालाई विकास गरिएको उहाँको भनाई छ । प्रणय दिवसको अवसर पारेर रेवान सौराहाले अस्ति आइतबारदेखि सडक फुड फेष्टिवल आयोजना गरेको छ । बुटिङ सौराहाको अवधारणसहित अहिले सौराहाको मुख्य बजारलाई सिँगारिएको छ । प्रणय दिवसको अवसरमा होटल तथा रेस्टुरेन्टहरुमा युगल जोडीको स्वागतका लागि विशेष वातावरण बनाइँदैछ । हात्तीचोकदेखि गैँडाचोकसम्म डालोमा बत्ती बालेर झिलिमिली बनाइएको छ । प्रणय दिवस मनाउन सौराहा आएकाहरुलाई दिउँसो हात्ती तथा जिप सफारी गर्ने र साँझ सौराहाको खाना र संस्कृतिमा रमाउने व्यवस्था मिलाइएको फेष्टिवलका संयोजक ध्रुव गिरीले बताउनुभयो ।
सौराहा हरेक हिसाबले सुरक्षित ठाउ भएकाले त्यहाँ निर्धक्क भएर रमाउन सकिने हुनाले पछिल्लो समय प्रणय दिवस मनाउने जोडी त्यहाँ पुग्ने गरेका छन् । सौराहा पुगेका युगल जोडीले रमणीय र शान्त ठाउँहरुमा समेत बस्न पाइने व्यवस्था गरिएको छ । शान्त ठाउँको खोजी गर्नेलाई नदीकिनार र रमाइलो वातावरणमा रमाउन चाहनेका लागि विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने गरेका छन् । प्रणय दिवस मनाउन त्यहाँ पुग्ने जोडीले गन्तव्य घुमिसकेपछि सौराहाको रमणीय वातावरणमा रमाउन सक्ने गरी फेष्टिवलमा तयारी गरिएको छ । प्रणय दिवस मनाउन अन्त जानै नपर्ने गरी वातावरण तयार गरिएको र विशेष गरी प्रणय दिवसको अवसर पारेर फेष्टिवलको आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताउनुभयो ।
कोरोनाको कहरका कारण सौराहाको पर्यटन करिब दुई वर्ष प्रभावित बन्यो । क्षेत्रीय होटल संघ चितवनले आयोजना गर्ने चितवन हात्ती महोत्सव कोरोनाकै कारण रोकिएको थियो । यसवर्ष पनि हात्ती महोत्सव हुन सकेन । सौराहाका रेस्टुरेन्ट व्यवसायीले भने पर्यटकीय गतिविधिलाई निरन्तरता दिइरहेका छन् । अंग्रेजी नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम गरेको रेवान सौराहाले प्रणय दिवसलाई आधार बनाएर पर्यटक भित्र्याउन फुड फेष्टिवल आयोजना गरेको हो ।