नारायणगढ–मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि भोलीदेखि थप १५ दिन सडक बन्द हुने भएको छ ।
गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक एक÷एक महिनाको दरले दैनिक चार घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार यहि फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ ।
कालिखोला, चिसेन्जी र तुइन खोला लगायतका मुख्य तीन स्थानमा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउन खोजिएको हो । कालिखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बनाउन काम जारी छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ भने नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।
नारायणगढतर्फको तल्लो भागमा केही कडा चट्टान आए पनि थपिएको १५ दिनमा भ्याउने तयारी आयोजनाको छ । तुइन खोलाको मुग्लिनतर्फको भीर सबैभन्दा जटिल र गाह्रो भाग भएकाले निकै समय लागेको हो । ६० मिटर अग्लो पहाडलाई काटेर करीव २५ मिटरमा झारिएको छ । समग्रमा दुई महिनामा ३५ प्रतिशत मात्रै काम तुइनको मुग्लिनतर्फको भागको सकिएको छ । ब्रेकरको सहायताले चट्टान काट्दा निकै समय लागेको र समस्या भएकोले आयोजनाका अधिकारीहरू अब विस्फोट गराउने तयारीमा जुटेका छन् । आयोजना प्रमुख कार्कीले दिएको जानकारी अनुसार तुइनको मुग्लिनतर्फको भागलाई अब विस्फोट गराएर फुटाउनुको विकल्प नभएकोले सबै प्रक्रिया पूरा गरेर फाइल विभाग हुँदै गृहमन्त्रालयमा लगिएको छ । गृहबाट रक्षा मन्त्रालयमा गएपछि नेपाली सेनाको प्राविधिक टोलीले पहरोमा कन्ट्रोल विस्फोट गर्नेछ । विस्फोटको सबै अधिकार र जिम्मा नेपाली सेनाले लिने गरेको छ ।
तुइन खोलाको नारायणगढको तर्फको भागमा ३० प्रतिशत काट्न बाँकी रहेकोले थपिएको १५ दिन भित्र त्यसलाई सकिने आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो । विस्फोट गराउने प्रक्रिया र समय दुवै लाग्ने भएकोले अहिले काटिएको भागलाई स्लोप दिने र सुरक्षित बनाउने गरी फिनिसिङ्गको काम बाँकी १५ दिनमा गरिने जनाइएको छ ।
चिसेन्जी र तुइन खोलामा पहाड भत्काएर भित्र नयाँ पुल बन्ने गरी डिजाइन गरिएकोले पहाड काटिएको हो । सडकखण्डको मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो पुलको काम अझै सुरु हुन सकेको छैन । पहिलो खहरे खोला पुलमा पनि अहिले भइरहेको पुलबाट तल अर्थात त्रिशूली नदीतर्फ अर्को पुल बन्ने गरी डिजाइन भएको छ । पुल बन्ने ठाँउको मुखका पाँच घरहरू भत्काउनुपर्ने छ । चालु वर्षमा १३ वटा पुलको काम सक्ने र मुअब्जाका लागि बजेट आए बनेका पुलहरु तत्काल सञ्चालन गर्ने योजना आयोजनाको छ । यो सडकखण्डमा पर्ने १९ वटा पुल मध्ये चार वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । बाँकी १५ वटा पुलमध्ये सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल गरी नौ वटा पुल तयार भएर सञ्चालनको तयारीमा छन् ।
चिसेन्जी, खहरे (मुग्लिन नजिकैको) र तुइन खोलाको पुलको फाउण्डेशनको काम नै बाँकी छ । तोकिएको समय भित्र काम नसकिने भएपछि पुल निर्माणका लागि २०८० पुस ९ गतेसम्मको म्याद थप गरिएको छ । सडकखण्डमा पुल बनाउने ठेक्काको जिम्मा अनक कन्स्ट्रक्सनले पाएको हो । पुल बनाउन २०७६ चैत्र १० मा सम्झौता भएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाले मुग्लिन नजिकैको खहरे खोलादेखि रिग्दी खोलासम्मका सात वटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठ वटा पुललाई प्याकेज–२ बनाएर काम अघि बढाएको हो ।
प्याकेज–१ अन्तर्गतका पुल इच्छाकामना गाउँपालिकामा र प्याकेज–२ अन्तर्गतका पुल भरतपुर महानगरपालिकामा पर्छन् । प्याकेज–१ मा मुग्लिनबाट यताका खहरे, चिसेन्जी, तुइन, काली, टोपे, न्याम्सी र रिग्दीखोला गरी सातवटा पुल रहेका छन् ।
प्याकेज–२ मा जुगेडी, खहरे, खोर, लामोबालुवा, भोर्ले, डुम्रे, सिमलताल र सेतीदोभान गरी आठ पुल छन् । प्याकेज–१ का पुल ६७ करोड ९९ लाख ५९ हजार रुपैयाँमा र प्याकेज–२ का पुलको लागत ५९ करोड पाँच लाख ५९ हजार छ ।
सडक विस्तार भइसक्दा पनि पुल साँघुरा र जीर्ण भएकोले दुर्घटनाको खतरा बढेपछि नयाँ पुल बनाउन लागिएको हो । पुलको चौडाइ सडकसँग मिल्ने गरी सात मिटरदेखि ११ मिटरका हुनेछन् ।