मितिः २०८१, २६ भाद्र बुधबार

आज ७३ औं प्रजातन्त्र दिवस ः काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम, सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि

आज ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रजातन्त्रको अवसरमा काठमाडौंको सैनिक मञ्ज टुँडिखेलमा पनि विशेष कार्यक्रम गरी मनाइएको छ ।
उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कुटनीतिक निकायका प्रमुखहरू लगायतको सहभागीता थियो ।

उक्त समारोहमा नेपाली सेनाको दुई वटा हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शहीदहरुप्रति श्रद्धापूर्ण रुपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपास गर्नुका साथै राष्ट्रिय गीतको धुन र ब्याण्ड बजाइएको थियो । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो ।
यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।