मितिः २०८१, २६ भाद्र बुधबार

ब्राजिलमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी ३६ जनाको ज्यान गयो

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी–पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
बाढी–पहिरोबाट साओ पाउलो सहरमा ३५ जना र उबातुबा सहरमा एक बालिका गरी ३६ जनाको ज्यान गएको बताइएको छ
साओ पाउलो सहरको उत्तरी तटीय क्षेत्रमा दुईसय २८ जना घरबारविहीन भएका छन् । तीनसय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी–पहिरोमा हराएका तथा घाइते भएकाहरूका बारेमा भने अधिकारीहरुले जानकारी नदिएको बताइएको छ ।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच सहरमा आपत्काल घोषणा गर्नुभएको छ । साथै उहाँले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गर्नुभएको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण समेत गर्नुभएको छ । ब्राजिलमा जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस सहरमा दुईसय ३० जनाभन्दा बढीको ज्यान गएको थियो ।