पोखरामा हिजो मंगलबार विस्फोटक पदार्थ पड्किंदा दुई बालक घाइते भएका छन् ।
घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् । घटना हिजा भएपनि घटना सार्वजनिक भने आज बुधबार मात्रै भएको हो । घाइते दुवै बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा ३३ ठूल्ढुंगामा हिजो मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । घाइतेहरुको अवस्था सामान्य भएको बताइएको छ । एक बालकको राति नै अपरेसन भइसकेको र एक जनाको भने आज हुने बताइएको छ । विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।