चितवनको देवघाटमा विद्युतीय शवदाह निर्माण अलपत्र परेको छ । दुई वर्षमा काम सम्पन्न गर्नेगरी चार वर्षअगाडि ठेक्का लिएको मिलेनियम सिडगढी जेभीले काम गर्न छाडेर सम्पर्कविहीन भएपछि शवदाह निर्माण अलपत्र परेको हो । तीन पटकसम्म म्याद थपेर ठेक्का अवधि बढाए पनि काम भने पूरा हुन सकेको छैन ।
२०७५ माघ ३ गते ठेक्का सम्झौता गरेको कम्पनीले २०७७ माघ २ गते सम्पन्न गर्नुपर्नेमा समयमा काम नसकेपछि पटक–पटक गरी म्याद थप्दै गत साउन १ गते काम सम्पन्न गर्नका लागि पछिल्लो मिति तोकिएको थियो ।
सो समयावधिमा पनि काम पूरा नभएपछि निर्माण कम्पनीलाई जरिवाना लगाएको सहरी विकास तथा भवन निर्माण कार्यालय चितवनले जनाएको छ । तीन पटक म्याद थप्दासमेत काम नभएको र अन्तिम पटकको समय पनि गुजारेर निर्माण छाडेपछि जरिवाना असुलेको कार्यालयका प्रवक्ता ओमबहादुर खड्काले जानकारी दिनुभयो ।
समयमा काम नसक्ने, बीचैमा काम छाड्ने, ताकेता गर्दासमेत बेवास्ता गरेपछि धरौटी रकमबाट कटौती गरेर दुई करोड ३१ लाख रुपियाँ जफत गरेको खड्काको भनाई छ ।
म्याद गुज्रेको सात महिना बितिसक्दा पनि निर्माण कम्पनीबाट थप समयका लागि निवेदनसमेत कार्यालयमा नदिएको बताइएको छ । ११ करोड २१ लाख छ सय ४१ रुपियाँ लागतमा निर्माण सम्झौता भएको विद्युतीय शवदाह भवनको २० प्रतिशत मात्र काम भएको छ ।
निर्माण कम्पनी सम्पर्कविहीन भएपछि भवन निर्माण रोकिएको छ । निर्माण कम्पनी खोजी गरी जरिवाना लगाएरै भए पनि काम लगाउने तयारी रहेको कार्यालयले जनाएको छ ।
कामप्रतिको जवाफदेहीका लागि कम्पनीलाई कालो सूचीमा राख्ने, सचेत गराउने, जरिवाना तोकेर पुनः काममा लगाउने प्रयत्न हुने बताइएको छ । अधुरो कामको ठेक्का अरूलाई दिन नमिल्ने भएकाले बीचैमा काम छाड्नेलाई जसरी पनि काम लगाउने प्रयत्न हुनेछ । निर्माण कम्पनीका सम्पर्क व्यक्ति सिपलचन्द्र ढकाल कार्यालयको सम्पर्कमा नभएको जनाइएको छ ।
हिन्दु धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल देवघाटधाममा निर्माण हुने विद्युतीय शवदाह भरतपुर महानगर र देवघाट क्षेत्र विकास समितिले गौरवको आयोजनाका रूपमा लिएको छ ।
त्यहाँ दैनिक कम्तीमा १० शव ल्याउने गरिएको छ । शवदाह भवन निर्माणपछि छिटो दाह संस्कार गर्न सकिने, दाउरा अभावबाट छुट्कारा र प्रदूषणको कमीसमेत हुने देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार