भारतबाट नेपालमा आएको चार वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको चार वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो ।
निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती चार वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो ।
भारतबाट आएको चार वटा ट्यांकरमा भएको ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । अहिले झापाको चारआली शाखामा रहेको चार वटा ट्यांकरको डिजेलको अनुसन्धान भइरहेको बताइएको छ । डिजेलमा मटीतेल मिसावटको आशंका भएकाले छानबिन समितिले मिसावटको विषयमा प्रतिवेदन पेस गरेपछि निगमले कारबाही गर्ने जनाइएको छ ।
नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने निगम बताउछ । नेपालमा मटीतेल र डिजेलको मूल्य बराबर छ । भारतमा भने कोटामा पाइने मटीतेलको प्रतिलिटर ३० देखि ५० रूपैयाँ सस्तो हुने गरेको छ ।
निगमका अनुसार परीक्षणपछि ती ट्यांकरलाई कारबाही गरेर डिजेल बराबरको गुणस्तर बनाई हाल मिसावट भएको डिजेल बिक्री गरिने छ । नेपालमा डिजेल र मटीतेलको मूल्य बराबर भएपछि बीचमा मिसावट बन्द भएको थियो ।