नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहनुभएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा हुनुभएको छ ।
नाबालिग बलात्कारको आरोप लागेपछि पोहोर आजकै दिन अर्थात् फागनु १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गर्नुभएका शाह हिजो उच्च अदालत पोखराबाट सफाइ पाएपछि तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर आज फागनु १५ गते नै थुनामुक्त हुनुभएको हो ।

शाहलाई लिन उहाँका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्रै गएका थिए । उनीहरुले खादा र माला लगाएर शाहको स्वागत गरेका छन् । जिल्ला अदालत नवलपुरले उहाँलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि शाहले सफाइ पाउनुभएको हो । शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि पूर्वी नवलपरासी (नवलपुर) जिल्ला अदालतले भने साढे दुई वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिन आदेश दिएको थियो । त्यसविरुद्ध शाहले पुनरावेदन दिनुभएको थियो । हिजो आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले शाहमाथि लागेको अभियोगमा सफाइ दिने फैसला गरेको थियो । हिजो आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पु¥याउन ढिला भएकाले शाह आज सोमबार रिहा हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार