भरतपुर महानगरपालिकाले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेको छ । सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।
भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भू–उपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो । उक्त समितिले सहयोग कार्यदल बनाई कार्यदलले पेस गरेको मापदण्डका आधारमा छलफल गरी जग्गाको वर्गीकरण गरिएको प्रमुख दाहालले बताउनुभयो ।
वर्गीकरणअन्तर्गत आवासीय क्षेत्रमा छ मिटर सडक पूर्वाधार पुगेको र छ मिटरभन्दा साना सडकमा सडक सिमानापछिको ५० मिटर दायाँबायाँको क्षेत्र पर्ने उल्लेख छ । यस्तै छ मिटरभन्दा ठूला सडकमा सडक सिमानापछिको ७० मिटरसम्म दायाँबायाँको क्षेत्र र व्यावसायिक क्षेत्र तोकिएको क्षेत्रपछि सडक पूर्वाधार पुगेको क्षेत्रहरूमा थप ५० मिटर आवासीय क्षेत्र हुने उल्लेख छ ।
कार्यपालिका बैठकले जग्गाको वर्गीकरणको मापदण्ड स्वीकृत गरी स्थानीय भू–उपयोग परिषद्लाई सिफारिस गरेको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो । जग्गाको वर्गीकरणसँगै तोकिएको मापदण्डअनुसार कित्ताकाट खुला हुने प्रमुख दाहालको भनाइ छ । आज महानगरपालिकाले नापी र मालपोत कार्यालयमा पत्राचार गरेसँगै भोलिदेखि कित्ताकाटको काम हुने जनाइएको छ । लामो समयदेखि कित्ताकाट रोकिँदा कित्ताकाट गरेर जग्गाको कारोबार हुनसकेको थिएन । यससँगै जग्गाको कारोबार चलायमान हुने अपेक्षा गरिएको छ ।