पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा आज बुधबार तालाबन्दी भएको छ । नयाँ नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रियामा रहेको संस्थालाई निर्वाचन समितिले अयोग्य ठहर गर्दै ४० जनाको उम्मेदवारी बदर गरेपछि असन्तुष्ट बनेका उम्मेदवारहरुले संस्थाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
संस्थाको कार्यालयमा तालाबन्दी भएपछि आज बुधबार बिहान ९ बजेबाट सुरु हुने भनिएको उम्मेदवारी दर्ताको कामसमेत रोकिएको छ । सो सहकारीको विवाद चरमउत्कर्षमा पुगेपछि रत्ननगर नगरपाालिकाले फागुन २१ गतेभित्र समिति गठन गर्न निर्देशनात्मक पत्र पठाएको थियो ।
नगरपालिकाले सहकारीलाई पठाएको पत्रअनुसार निर्वाचन समितिले फागुन २० गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । यता नियोजित रुपमा निर्वाचन समितिले ४० जनाको उम्मेदवारी बदर गरेको भन्दै नेपाली कांग्रेस र एमालेले त्यसको प्रतिवाद गरेका थिए । संस्थाको कार्यालयमा तालाबन्दी भएपछि सो सहकारीको नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशन थप विवादमा तानिएको छ ।