चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिक रुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिक रुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ ।
चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको बताइएको छ । कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको कृषक चन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ । आफुले २०३२ सालमा गाँजर खेतीबाट कृषि कर्म सुरु गरेको अधिकारीले बताउनुभयो । गाँजर उत्पादन धेरै भए पनि बजार मूल्य नपाउने र लगानी धेरै लाग्ने भएकाले आफूले तेलहन बाली लगाएको उहाँको भनाई छ ।
सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकाले अन्य खेती गर्ने किसान यसतर्फ आकर्षित हुन थालेका छन् । यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने अधिकारीको भनाइ छ । पछिल्लो समय फूल फुल्न थालेसँगै त्यहाँ टिकट शुल्क रु एक सय तिरेर दैनिक टिकटक बनाउने, फोटो खिच्ने र घुम्न तथा खेतीबाली हेर्न पर्यटक त्यहाँ जाने गरेका छन् । पर्यटकहरु त्यहाँ पुगेपछि आनन्द महसुस गर्छन् ।
अहिले त्यहाँ मह उत्पादनका लागि मौरीको ६०÷६५ घार पनि राखिएका छन् । चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलहन बालीका लागि केन्द्रले सहयोग गरेको कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले जानकारी दिनुभयो । उहाँले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताउनुभयो । यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार