बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा हिजो भीषण आगलागी हुँदा १२ हजारभन्दा मानिस घरबारविहीन बनेका छन् ।
उक्त आगलागीबाट शरणार्थीका लागि बनाइएका झण्डै दुई हजार घर जलेका छन् । मानिसहरुले भागेर ज्यान बचाउन सफल भएपनि घर र घरभित्र रहेका सामग्री भने जलेर नष्ट भएको जनाइएको छ । आगलागीमा ३५ वटा मस्जिद र २१ वटा लर्निङ सेन्टर पनि जलेर खरानी भएको बताइएको छ ।
हिजो दिउँसो चार बजेतिर सुरु भएको आगो झण्डै तीन घण्टापछि निभाइएको बङ्लादेशको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन । अहिले शिविरमा पानी लगायतका आधारभूत वस्तुहरुको आपूर्ति समेत जोखिममा रहेको छ ।
बङ्लादेशका रोहिङ्ग्या शिविरमा बारम्बार आगलागीका घटना हुने गरेका छन् । यसअघि सन् २०२१ र सन् २०२२ मा गरी आगलागीका दुई सय २२ वटा घटना भएका थिए । सन् २०२१ को मार्चमा एउटा बस्तीमा आगलागी हुँदा १५ जनाको ज्यान जानुको साथै झण्डै ५० हजार जना विस्थापित भएका थिए ।
उक्त शिविरमा म्यानमारमा भएको रोहिङ्ग्या जातीय अल्पसङ्ख्यकहरू विरुद्ध सैन्य कारबाहीपछि भागेका मानिसहरूलाई राखिएको छ ।