प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट दर्ता भएको छ ।
२०७६ माघ १ मा माघी पर्वको अवसरमा काठमाडौको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएकामध्ये पाँच हजार जनाको मात्र जिम्मा आफूले लिएको अभिव्यक्ति दिनुभएको थियो । प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वकालीन घटनामा पीडित भएका कल्याण बुढाथोकी, विनोद सापकोटा, कमला राई तिमल्सेना, हुमराज दवाडीलगायतले रिट दायर गर्नुभएको हो । मुद्दाको पेसी पर्सि बिहीवारलाई तोकिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
उक्त अभिव्यक्तिविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेशको माग गरिएको छ । यसअघि गत कात्तिक १४ गते सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ गते सर्वोच्च प्रशासनले दरपिठ अर्थात् दर्ता नगर्ने निर्णय गरेको थियो । दरपिठ भएको रिट निवेदन गत शुक्रवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । इजलासले रिट दरपिठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो ।
उक्त रिटप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ । माओवादी महासचिव देव गुरुङले आइतबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या गरेर कारबाहीको विषय बनाइनुपर्छ भन्नु पूर्वाग्रही भावना भएको बताउनुभएको थियो । आज मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका आठ दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।